काठमाडौं,मंसिर २८ । पछिल्ला दुई–तीन वर्षयता अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायत देशमा नेपाली नर्सहरु कामकाजमा जाने क्रम बढ्दो छ । नेपाली नर्सहरु बिदेशिनुको मुख्य कारण नर्सहरुलाई दिइएको तलव तथा सेवा सुविधा नै हो। नर्सहरुलाई दिइएको न्युनतम सुविधा तलव पनि न्युन हुनाले पछिल्ललो समय सयौ संख्यामा नर्सहरु विदेशिन बाध्य भएका छन् । नेपाली नर्सहरुको पहिलो रोजाइमा अमेरिका पर्दछ । अमेरिका जाने नर्सको यतैबाट ‘पीआर’ समेत फिक्स हुने र धेरै लगानी नलाग्ने र परिवार समेत लैजान पाउने भएपछि धेरैजसो नर्सहरु अमेरिका जाने गरेका छन् । यस्तै युके, अस्ट्रेलिया, नर्वे, क्यानडा लगायत देशमा पनि नर्सको आकर्षण राम्रो छ ।
नेपालमा ३० हजार हाराहारीमा नर्स बेरोजगार भएको आकलन छ । निजी अस्पतालमा जागिर खानेले उचित तलब पाउँदैनन् । नेपालमा भविष्य नहुँदा अधिकांश नर्स विदेशको लागि प्रयासरत छन् ।नेपालमा ४५ हजार नर्सिङ जनशक्ति मात्र सक्रिय भएको अनुमानित तथ्यांक छ । तीमध्ये नेपाल सरकारअन्तर्गत स्थायी र करारमा १८ हजार नर्स कार्यरत छन् । यस्तै, करिब १७ हजार नर्स निजी अस्पतालमा र बाँकी शैक्षिक क्षेत्रमा काम गरिरहेका छन् । नेपाली नर्सहरुले उचित तलव नपाएको गुनासो भइरहदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्युनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ ।
मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक निजी अस्पताललाई पत्र लेख्दै स्वास्थ्यकर्मीको सेवा सुविधा सरकारी सरह लागू गर्न भनिएको हो । त्यस्तै, तोकिएको समय भन्दाबढी कार्यको लागि अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने मन्त्रालयको निर्णयमा भनिएको छ ।
स्वास्थ्य तथा शैक्षिक संस्थाले करार नियुक्ति सम्झौता गरी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाईने, सक्कल शैक्षिक लब्धांक पत्रहरू कार्यालयले राख्न नपाइने पनि निर्णयमा भनिएको छ ।यस्तै स्वास्थ्यकर्मीलाई अनुभवको पत्र प्रदान गर्नुपर्ने पनि जनाइएको छ । नर्सिङ लगायतका अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक बैकिङ प्रणालीबाट मात्र उपलब्ध गराउन पनि पत्रमा भनिएको छ ।