काठमाडौं,पुस २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थालाई अनिवार्य नवीकरण गर्न परिपत्र गरेको छ । सञ्चालन अनुमति नलिएका स्वास्थ्य संस्था र अस्पताल भए तत्काल अनुमति लिन पनि मन्त्रालयले भनेको छ ।
मन्त्रालयले मंगलबार परिपत्र जारी गर्दै कानुनअनुसार अनुमति र नवीकरण गर्न भनेको हो । यो नगरेको पाइए कानुनअनुसार कारबाही गर्ने चेतावनी समेत मन्त्रालयले दिएको छ ।
‘स्वास्थ्य संस्थाहरु इजाजत अनुमति नलिई र नवीकरण नगराई सञ्चालन भएका भन्ने गुनासो आएकाले जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ को उपनियम ९१० मा कसैले पनि इजाजतपत्र नलिई निजी गैरसरकारी, सहकारी वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउनु हुँदैन,’ परिपत्रमा भनिएको छ, ‘ इजाजत पत्र नवीकरण गराएर मात्र स्वास्थ्य संस्था सञ्चालन गर्नुहुन अन्यथा कानुन बमोजिम कारबाही गरिनेछ ।’