काठमाडौं,माघ २६ । उपचारमा लापरबाही गर्ने जनकपुरको दर्ता नरहेको मुस्कान अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् ।
शुक्रबार राति ११ बजे अस्पताल पुगेका मुख्यमन्त्री सिंहले त्यहाँका सञ्चालकलाई आज बिहान ११ बजेसम्म अस्पताल बन्द गरेर साँचो बुझाउन निर्देशन दिएका हुन् । गत माघ ३ गते पित्तथैलीको शल्यक्रिया गरेपछि सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं ५ की २५ वर्षीय बबिता कुमारी यादव अहिलेसम्म बेहोस छन्। यो घटना थाहा पाएपछि मुख्यमन्त्री सिंह अस्पताल गएपनि तर, त्यहाँ सञ्चालक नहुँदा फर्किएका थिए । राति पुन ११ बजे पुगेर मुख्यमन्त्री सिंहले दर्ताका कागजातहरू देखाउन भनेका थिए ।
दर्ता नरहेको पाइएपछि मुख्यमन्त्री सिंहले यहाँ उपचाररत रहेका तीनजना बिरामीलाई अन्य अस्पतालमा व्यवस्थापन गर्न र बिहान ११ बजेसम्म अस्पतालमा ताल्चा लगाएर साँचो सरकारलाई बुझाउन उनले निर्देशन दिएका हुन्। मुख्यमन्त्री सिंहले शल्यक्रिया पश्चात् गम्भीर अवस्थामा पुगेका बबिता कुमारी यादवलाई तत्काल बाहिर लगेर राम्ररी उपचार गराउन निर्देशन समेत दिएका छन्।