काठमाडौं,साउन १ । वीर अस्पतालमा दुई दिन सम्म शल्यक्रिया रोकिएको छ । जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका चिकित्सकले दुई दिन शल्यक्रिया रोकिएको हो । अपरेसन रोकिदा ८० वटा शल्यक्रिया हुन पाएन ।
जोखिम भत्ता नपाएको विषय उठाएर एनेस्थेसिया चिकित्सकहरु आइतबार र सोमबार अपरेशन थियटरमा काम गर्न गएनन् । आकस्मिक रुपमा हुने केही शल्यक्रिया भयो, तर एनेस्थेसिया विभागले सेवा अवरुद्ध गर्दा योजना बनाइएका कुनै पनि अप्रेशन हुन नसकेको शल्यचिकित्सक बताउँछन् ।
सरकारले एनेस्थेसिया चिकित्सकको सेवा सुविधा कम भएको भन्दै प्रोत्साहन स्वरुप १०० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउँदै आएको थियो । करारमा भएको चिकित्सकलाई भने अस्पताल प्रशासनले आन्तरिक स्रोतबाट भत्ता दिँदै आएको थियो । पछिल्लो समय त्यो भत्ता कटौती भएको थियो ।
त्यसको विरोधमा एनेस्थेसिया चिकित्सक अपरेसन थिएटरमै नगएका हुन् । शल्यक्रियाका लागि लामो समयदेखि बिरामीले पालो लिएर बसेका छन् । एकाएक अपरेसन स्थगित हुँदा उनीहरु निकै मर्कामा परेका छन् ।
अस्पताल प्रशासनले पनि एनेस्थेसिया विभागीय प्रमुख डा. रबिराम श्रेष्ठसँग स्पष्टीकरण सोधेको छ । बिना जानकारी अपरेसनजस्तो संवेदनशील स्वास्थ्य सेवाहरु अवरुद्ध गरेको भन्दै डा। श्रेष्ठलाई सोमबार नै लिखित स्पष्टीकरण दिन निर्देशन दिइएको थियो ।
अस्पताल प्रमुखले कारबाहीका लागि पत्र काटेपछि एनेस्थेसिया विभागका चिकित्सकहरु सम्वादमा आएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का उपकुलपति प्रा।डा भुपेन्द्र बस्नेत, अस्पताल निर्देशक डा. सन्तोष पौडेल, एनेस्थेसिया विभागका चिकित्सक सोमबार साँझ छलफलमा बसेका थिए । अस्पताल प्रशासनले यही हप्ता जोखिम भत्ता पठाउने बताएपछि मंगलबारबाट सेवा सञ्चालन भएको छ ।