काठमाडौं,साउन ३१ । चलचित्र क्षेत्रको नियामक संस्था चलचित्र विकास बोर्डको अध्यक्षका लागि ६ जनाले आवेदन दिएका छन् । हिजो आवेदन दिने अन्तिम म्याद थियो ।
पहिलो आवेदन चलचित्रकर्मी तथा सञ्चारकर्मी दिनेश डिसीले दिएका थिए । त्यसयता थप ५ जनाको आवेदन गरेको हो । जसमा करिश्मा मानन्धर, राजेश थापा, प्रकाश भट्टराई दीपा बस्नेत र अर्जुन कुमार डंगोल रहेका छन् ।
चर्चित अभिनेत्री करिश्मा मानन्धर सत्तारुढ दल एमालेको सांस्कृतिक विभागको सदस्य छिन् । राजेश थापा सांस्कृतिक संस्थानका पूर्वमहानिर्देशक हुन् ।
सञ्चार मन्त्रालयले विज्ञ टोलीको सल्लाहमा औपचारिक प्रक्रिया अनुसार ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्छ । उनीहरूमध्ये एक जनलाई मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्नेछ। कानूनी औपचारिकता पुर्याउन आवेदन माग गरिएको भए पनि बोर्ड अध्यक्षको टुंगो भने बालुवाटारले नै लगाउने गरेको छ ।
आवेदन दिएका ६ जनामध्ये दिनेश डिसीको सम्भावना बलियो देखिएको छ । लामो समयदेखि चलचित्र तथा सञ्चार क्षेत्रमा सक्रिय रहेका उनी चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुन् । उनले आधा दर्जन चलचित्रको निर्देशन र ५० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।
डीसीले बोर्ड अध्यक्षका लागि ६९ बुँदे कार्य योजनासहित पहिलो दरखास्त हालेका थिए ।