पोखरा, भदौ ३० । पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले पनि सम्मान गरेको छ । उनलाई नगद सहित सम्मान गरिएको हो ।
पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई मेयर धनराज आचार्यले आइतबार २ लाख २२ हजार २२२ सहित सम्मान पत्रले सम्मान गरेका हुन। मेयर आर्चायले भनेका छन्, नेपाली खेलकुदको क्षेत्रमा नेपालकी छोरी पलेसा गोवर्धनले प्राप्त गरेको सफलताले खेल जगत मै उत्साहको नयाँ सञ्चार गरेको छ,’ ‘यो सफलता नेपाल र नेपालीका लागि गर्वको विषय हो ।’
नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्द्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकी थिइन् । पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन्।
यस्तै कार्यक्रममा पलेसाका प्रशिक्षक कविराज नेगी लामा र म्यानेजर रामचन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।