काठमाडौं,मंसिर १८। नेपाल प्रिमियर लिग एनपीएलमा बेटिङ खेलाएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले चार जनालाई पक्राउ गरेको हो । सोमबार दुई जना र मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । सोमबार पक्राउ परेका दुई जना भारतीय हुन् ।पक्राउ पर्नेमा भारतीय नागरिक सुमन घोस् र अमित यादव रहेका छन् ।
एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ । यस्तै आज भएको नेपाल प्रिमियर लिग ९एनपीएल० मा सन्दीप लामिछाने नेतृत्वको विराटनगर किङ्सले खराब सुरुवात गर्दै लगातार दुई हार व्यहोरेको छ । दुवै म्याचमा विराटनगरले विपक्षी टीमलाई कडा चुनौती दिन सकेन । उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको विराटनगरले आज दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनको हार स्वीकार्यो । दुवै खेलमा बलिङ र ब्याटिङ फ्लप हुँदा प्रतियोगिताकै कमजोर टोलीका रूपमा विराटनगर देखा परेको छ ।
टीमको सबैभन्दा ठूलो आशा सन्दीपमाथि नै थियो । तर, अघिल्ला दुई खेलमा उनी चल्न सकेनन् । पहिलो खेलमा जनकपुरविरुद्ध ४ ओभरमा ३० रन खर्चिँदा विकेटविहीन रहेका सन्दीपले आज दोस्रो खेलमा एक रन बढी खर्चिए तर विकेट निकाल्न सकेनन् । म्याचपछिको प्रेसमिटमा सन्दीपले आफ्नो बलिङ अपेक्षा अनुसार नभएको स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘म्याच सिचुयसन अनुसार म बलिङ गर्ने प्रयास गर्छु । कहिले विकेटका लागि जोड लगाउनुपर्ने हुन्छ भने कहिले रन रोक्नुपर्ने हुन्छ । प्रयास गर्दागर्दै पनि कहिलेकाहीँ हुँदैन । म आफ्नै अपेक्षामा खरो उत्रिन सकिरहेको छैन ।’