काठमाडौं, कात्तिक २७। यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई ११४ रनको लक्ष्य दिएको छ । दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २ विकेट गुमाएर २१३ रन बनाएको छ ।
नेपालकी कप्तान पुजा महतो १३० र सोनी पाख्रिन ४३ रनको अविजित इनिङ खेले । पूजाले ६९ बलमा १३० रन बनाउँददा सोनी ३३ बलमा दुई चौका मद्दतमा ४३ रनमा अविजित रहिन् । उनीहरूले तेस्रो विकेटका लागि ८४ बलमा १५७ रनको साझेदारी गरे । यस्तै सावित्रि धामीले ११ र सान प्रविनले ६ रन बनाए । प्रतियोगितामा चारमध्ये तीन खेल जितेको नेपालले यसअघि पहिलो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो । नेपाल ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । कुवेत भने लगातार चार हार व्यहोर्दै अंकविहीन छ ।
चार टोली सहभागी छनोट प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ र शीर्ष स्थानमा रहने टोली मात्र यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।