काठमाडौं,साउन १३ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११३ अङ्कले बढेको छ । मौद्रिक नीतिपछिको पहिलो कारोबारका दिन नेप्से परिसूचक ११३.४२ अङ्कले बढेर २६८१.५६ बिन्दुमा कायम भएको हो ।
आज ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयरको खरिदबिक्री हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ । आइतबार दोस्रो सर्किट खुलेको एक मिनेट नबित्दै नेप्से परिसूचकले २७०० को बिन्दुलाई पार गरेको थियो । जुन करिब २९ महिनापछि परिसूचकले पार गरेको हो । यसअघि २०७८ फागुन ११ गते नेप्से परिसूचक २७०० बिन्दुमाथि पुगेको थियो ।
आइतबार प्रि ओपन सेसनबाटै उच्च अंकले बढेको शेयर बजार ११ बजेर १ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट ब्रेक खुलेको दुई मिनेटमै दोस्रो सर्किट ब्रेक लगेर ४० मिनेटका लागि कारोबार बन्द भएको थियो ।
आइतबार प्रि ओपन सेसनमै नेप्से सूचक ३८ अंकले बढेर २६०६.४२ को बिन्दुमा अडिएको थियो । भने, कारोबार खुलेको १ मिनेटमै अर्थात् ११ बजेर १ मिनेटमै १०२.६८ अंकले बढेर शेयर बजारको कारोबार २० मिनेटका लागि बन्द भएको थियो ।
दोस्रो सर्किट ब्रेक लाग्दा परिसूचक १२९.०७ अंकले बढेर २६९७.२१ को बिन्दुमा अडिएको थियो । दोस्रो सर्किट ब्रेकसम्म १३ लाख २०५ कित्ता सेयरको खरिदबिक्री हुँदा ५२ करोड ४९ लाख ६३ हजार रुपैयाँको कारोबार भएको थियो ।