काठमाडौं,मंसिर १२। सर्वोच्च अदालतले व्यावसायिक संगठनमा नरहेका व्यावसायीलाई सुन खरिदमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ ।‘राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको स्थितिमा व्यवसायीहरूका संघ संगठनमा आवद्ध नभएकै कारण सुन खरिद गर्न नरोक्नु, रोक नलगाउनु’ अन्तरिम आदेशमा भनिएको छ ।
रिद्धिसिद्धि ज्वेलर्सका तर्फबाट सागर ढुंगानाले दिएको निवेदनमाथिको बहसपछि अदालतले यस्तो आदेश दिएको हो । हाल वाणिज्य बैंकहरुले सुन आयात गरी व्यवसायीका तीन संगठनहरुलाई बिक्री हुँदै आएको छ । व्यवसायीका तीन संगठनले आवद्ध सदस्य व्यवसायीलाई सुन दिँदै आएका थिए । संगठनमा आवद्ध नभएका व्यवसायीले सुन नपाएको अवस्था देखिएको भन्दै अदालतमा मुद्दा दायर भएको थियो ।