काठमाडौं,पुस ४। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर परिसूचक नेप्से उच्च अंकले घटेको छ । निरन्तर घटिरहेको सेयर बजार यो साताको मंगलबार सीमान्त रूपमा बढे पनि अन्य सबै दिनमा गिरावाट आएको हो । सेयर बजार बिहीबार ३१.४३ अंकले घटेर २५ सय ९६ दशमलव ८२ बिन्दुमा आइपुगेको हो ।बुधबार ५.६० अंकले घटेको थियो । बिहीबार कारोबार रकम भने बुधबारको तुलनामा सीमान्त रूपमा बढेर ४ अर्ब ७६ करोड पुगेको छ । यो साता समग्रमा सेयर परिसूचक ८६ अंकले घटेको छ, यो ३ दशमलव २ प्रतिशतको गिरावट हो ।
बिहीबार कारोबारमा आएका सबै परिसूचकहरू घटेका छन् । सबैभन्दा उच्च दरले ट्रेडिङ इन्डेक्स २ दशमलव ७३ प्रतिशतले घटेको छ। कारोबारमा आएका कम्पनीहरूमध्ये सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर ३३२७ अंक पुगेको छ । सबैभन्दा धेरै घटेको नारायणी विकास बैंकको सेयर मूल्य ९ प्रतिशतले घटेर १३०१ मा आइपुगेको छ ।