काठमाडौं,साउन १७ । नायव निरीक्षक (सई) को भन्दा कम तलब पाएका वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)हरुको पक्षमा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
बुधबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको संयुक्त इजलासले वरिष्ठ सईहरुको तर्फबाट दायर भएका दुई वटा फरक(फरक रिटमा वरिष्ठ सईहरुको पक्षमा आदेश जारी गरेको हो ।
वरिष्ठ सई विनय चन्दसहितका १४ वरिष्ठ सईहरुले १६ पुस २०८० मा र उनीहरुले नै १३ असार २०८१ मा दायर गरेका दुई वटा छुट्टा-छुट्टै रिटमा सर्वोच्चले परमादेश र अन्तरिम आदेश जारी गरेको हो । जसमा उनीहरुको माग बमोजिम हुने उल्लेख गरिएको छ ।
सईमा खाएको तलबभन्दा कम तलब भएपछि वरिष्ठ सईहरु चन्दा उठाएर सर्वोच्चमा मुद्दा लडेका थिए । यो मुद्दाको ‘लिडिङ लयर’को रुपमा नेपाल प्रहरीकै पूर्वएसपी तथा अधिवक्ता डा। गणेश रेग्मी हुन् ।प्रहरीको तल्लो तहमा वर्षौंसम्म बढुवा नभएको भन्दै प्रहरी नियमावली संशोभन गरेर वरिष्ठ सई, वरिष्ठ हबल्दार र सहायक हबल्दार पद सिर्जना गरिएको थियो । दुई वर्षअघि २०७९ मा मात्रै १ हजार १७१ वरिष्ठ सईको दरबन्दीमा सिनियर सईहरु बढुवा भएका थिए ।