काठमाडौं, कार्तिक २०। सर्वोच्च अदालतले गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई पाँच वर्ष कैद गर्ने उच्च अदालतको फैसला सदर गरे पनि उनले २८ महिनामात्रै कैद भुक्तान गर्नुपर्ने भएको छ ।
मनाङेका तर्फबाट उक्त मुद्दामा बहस गरेका कानून व्यवसायी दीपकमणि निरौलाका अनुसार उनले यसअघि एक पटक दुई वर्ष र अर्को पटक आठ महिना गरी ३२ महिनाको कैद भुक्तान गरिसकेका छन् ।
मनाङेको मुख्य योजनामा २०६१ वैशाख ३१ गते महाराजगञ्ज, पानीपोखरीस्थित चाइनिज चुफाङ रेस्टुरेन्टमा अर्का गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङमाथि धारिलो हतियार प्रहार भएको थियो । उक्त घटनामा उनी पहिलो पटक २०६२ सालमा ठमेलबाट पकाउ परेका थिए ।
त्यसबेला गुरुङ पत्नी इन्दिराले कुटपिटको महलमा दिएको जाहेरीले मनाङेसहित गणेश लामा, सञ्जय डङ्गोल, तीर्थ लामासहितलाई प्रतिवादी बनाइएको थियो । त्यसमध्ये मनाङेलाई तत्कालीन जिल्ला प्रहरी कार्यालय काठमाडौंले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो ।
जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्यो । उनले डिल्लीबजारस्थित अनाश्रित गुल्म चारखालमा दुई वर्ष कैद भुक्तान गरेपछि तत्कालीन पुनरावेदन अदालतले धरौटीमा रिहा गरेको थियो ।