काठमाडौं, असोज १ । काठमाडौंको बसन्तपुरमा विशेष समारोहको आयोजना गरी इन्द्रजात्रा पर्व मनाइएको छ। मंगलबार परेको इन्द्रजात्राको व्शिेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायत विशिष्ट व्यक्तिहरू सहभागी भएका छन्।
समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भने उपस्थित भएनन्। उनी अहिले भारतमा रहेका छन् । उनको अनुपस्थितिमा उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरको तर्फबाट समारोहमा सहभागिता जनाइन्।
परम्परागत रूपमा मनाइदै आएको इन्द्रजात्रा पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गर्ने प्रचलन रहेको छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं उपत्यकाका ३ जिल्लाका अतिरिक्त धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।
विपक्षीलाई पराजित गरेपछिको विजयोत्सवको रुपमा मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिन्छ। इन्द्रध्वजको पूजाबाट शक्ति प्राप्त गरी सोही शक्तिलाई प्रदर्शन गरी मनाइने पर्वको रूपमा पनि इन्द्रजात्रालाई मानिन्छ।
इन्द्रजात्रा पर्वमा आजको दिन विशेष दिन हो । यो विशेष दिनमा राष्ट्रपति लगायत मुलुकका विशिष्ट व्यक्तिहरुबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने चलन रहेको छ।
इन्द्रजात्राको अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक विदा दिएको छ ।