काठमाडौं,कात्तिक १३ । सरकारले भूमि समस्या समाधान आयोगको गठन गरेको छ । प्यूठानका श्रीहरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन भएको सञ्चार प्रविधि तथा सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका हुन।
आयोगको उपाध्यक्षमा जाजरकोटका सनतकुमार कार्की, विज्ञ सदस्यमा एमालेबाट सिन्धुपाल्चोकका जगत बस्नेत, कांग्रेसबाट कैलालीका टेकबहादुर शाह, सदस्यमा दार्चुला गोवर्द्धन कोली, महोत्तरीका गुरजबहादुर खड्का, झापाका अनिलकृष्ण प्रुसाई, तनहुँका आरती भण्डारी रहेका छन् ।
भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ अनुसार आयोगका अध्यक्ष, उपाध्यक्ष एवम सदस्यको पदावधि ३ वर्ष रहनेछ । यद्यपी आयोगको अध्यक्ष, उपाध्यक्ष वा सदस्यलाई विभिन्न कारण देखाएर जुनसुकै बेला पनि सरकारले पदबाट हटाउन सकिने व्यवस्था गठन आदेशमा राखिएको छ ।