समाचार

शिवशंकर हत्या प्रकरणमा उनकै श्रीमती पक्राउ

शिवशंकर हत्या प्रकरणमा उनकै श्रीमती पक्राउ

काठमाडौं, चैत ११ । धनुषाका शिवशंकर महतो हत्या प्रकरणमा प्रहरीले उनकै श्रीमतीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जयसवारका अनुसार  शिवशंकरकी श्रीमती सिर्जनालाई पक्राउ गरिएको हो।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुर बस्ने २५ वर्षीय शिवशंकरको हत्या भएपछि प्रहरीले श्रीमतीलाई समेत आशंका गर्दै अनुसन्धान अघि बढाएको थियो ।मोटरसाइकलमा लैजाने व्यक्तिको समेत पहिचान भइसकेको छ । शिवशंकरको शव महोत्तरीको गौशाला नगरपालिका–८ सागरनाथ वनमास्थित रेल्व ट्र्याकबाट करिब १०० मिटर दक्षिणतर्फ फेला परेको थियो । शुक्रबार साँझ ५ः३० बजे शव भेटिएको थियो ।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा गर्धनमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको छ । हत्यापछि घिसारेर केही पर लैजान खोजेकोजस्तो समेत देखिएको छ । शवको आइतबार सनाखत भएको थियो । शव अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।

प्रहरीका अनुसार शिवशंकर बिहीबार दिउँसो श्रीमती सिर्जनासँगै १० महिने छोरासहित ससुराली घर बर्दिबास नगरपालिका–५ पशुपतिनगर बन्द्र जान भनी निस्केका थिए । तर उनी ससुराली पुगेरनपुगेको प्रहरीले केही खुलाएको छैन ।

कुनै रिसिईबीका कारण हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । अर्कोतर्फ भने हत्या भएका शिवशंकर करिब डेढ महिना पहिला मात्रै मुम्बईबाट धनुषा आएका थिए । कुनै प्रेमसम्बन्धमा रहेका कारण उक्त समूहले हत्या गरेको हुनसक्ने भन्दै अनुसन्धान अघि बढाइएको छ ।

मृतकका भाइ राम महतोका अनुसार घरबाट एउटा मोटरसाइकलमा दाइ शिवशंकर, भाउजू र १० महिने छोरासहित महेन्द्रनगरसम्म पुगेका थिए । त्यहाँबाट सिर्जनाले माइतबाट दुईवटा मोटरसाइकल बोलाएर एउटामा १० महिने छोरासहित सिर्जना र अर्कोमा शिवशंकर चढेको भाइ रामको भनाइ छ ।

 

 

Related Tag :

Related Post