ललितपुर, पुस २ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजिक कार्यक्रममा ललितपुर नगर प्रहरीको प्रशंसा गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललितपुर नगर प्रहरीले गरिब जनताको ठेला नफ्याँकेको भन्दै प्रशंसा गरेका हुन ।
प्रधानमन्त्री ओलीले भने, ‘ललितपुर नगर प्रहरी सम्मानित हुनुभएको छ, म धन्यवाद भन्न चाहन्छु । किनकि ललितपुर नगर प्रहरीले जिपमा कुँदेर, अर्कै लोकको केही आए झैं गरेर कुँदेर, झ्याप गाडी रोकेर, सिठ्ठी बजाउँदै आतंकमच्चाउँदै, ठेला फाल्दै, गरिबका तरकारी, टमाटर फाल्दै यस्तो गरेको मैले देखेको छैन ।’ उनले थपे, ‘तपाईंहरुले जनताका लागि त्रास फिजाउने होइन । तपाईंहरुलाई देख्दा जनताले सुरक्षित महसुस गरुन् । तपाईंहरु जाँदा जनताले हाम्रा रक्षकहरु आए भन्ने ठान्नुपर्छ । ताकि लौ आयो, कता भागौं, के गरौं भन्ने हुनुहुँदैन ।
यस्तै उनले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताएका छन् । । उनले भने, ‘हामी जनताका सेवक हौं । हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनुपर्छ । हामीभित्र घमण्ड पस्नु हुँदैन । तनाव लिने र दिने काम पनि गर्नु हुँदैन । हामीले जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त समृद्ध नेपाल निर्माणको बाटामो तीब्रताका साथ अगाडि बढ्नुपर्छ ।’
उनले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको दाबी पनि गरे ।