काठमाडौं,माघ २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिने र त्यसका लागि पार्टीका सबै नेताबीच एकता हुनुपर्ने तथा पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताएका छन्।
संविधानले अपनाएको मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भन्दै कांग्रेसकै कतिपय नेताले निर्वाचन प्रणाली बदल्नुपर्ने धारणा व्यक्त गर्ने गरेका छन् । तर, पोखरामा पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम उद्घाटन कार्यक्रममा देउवाले सहज नभए पनि असम्भव नभएको बताए ।
उनले भनेका छन्, यो संविधानअनुसार बहुमत प्राप्त गर्न सहज छैन । तै पनि पार्टी एक भएर हिँडे, मतभेद बिर्सिएर हिँडे बहुमत ल्याउन सकिन्छ,’ पार्टीभित्र क्रियाशील विभिन्न समूहहरूतर्फ संकेत गर्दै सभापति देउवाले भने, ‘पार्टीका सबै नेताहरू लागेर पार्टीलाई त्यही दिशामा अगाडि बढाउन हार्दिक अनुरोध गर्दछु ।’