काठमाडौं,भदौ ७ । तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १५ जना अचेतावस्थामा रहेको गृहमन्त्रालयले बताएको छ ।
मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भूसालका अनुसार १५ जना अचेतावस्थामा रहेको बुझिएको हो ।आज बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी ऐनापहारा भन्ने ठाउँबाट मर्स्याङ्दी मा खसेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।
दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरसहितको उद्धार टोली खटिएको छ । यस्तै घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल दमौलीमा पुर्याइएको छ । उनीहरुको अवस्था हेरी रेफर गर्ने काम पनि जारी छ । डा भूसालका अनुसार थप उपचारका लागि काठमाडौं ल्याउनु परे हेलिकप्टरसमेत तयारी राखिएको छ ।