काठमाडौं,वैशाख २ । सुनसरीको देवानगञ्जमा भएको गोली काण्डमा संलग्न आरोपमा दुई सन्दिग्ध पक्राउ परेका छन् । ३ जना फरार रहेको प्रहरीले जनाएको छ। आइतबार साँझको यो घटनामा गोली लागेर देवानगञ्ज गाउँपालिका(७ का २१ वर्षीय शिवकुमार मेहता र रविनकुमार यादव घाइते भएका थिए । पेटमा गोली लागेका शिवकुमारको अवस्था गम्भीर छ । उनको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घटनामा सन्दिग्ध मानिएका देवानगञ्ज(१ का २७ वर्षीय रविनकुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादवलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिमल्सिनाले देवानगञ्जमा गोली चलाउने घटनामा ५ जनाको संलग्नता रहेको पाइएको बताए । ३ राउण्ड गोली चलेको प्रहरीको भनाइ छ ।
गोली चलाउने व्यक्ति कामेश्वर यादव रहेको र उनी हालसम्म फरार छन् । प्रारम्भिक अनुसन्धानबाट घटनाको कारण आर्थिक लेनदेन खुलेको छ ।