सुर्खेत, कात्तिक २४ । प्रहरीको लापरबाहीका कारण दुर्घटना बढेको भन्दै सुर्खेतमा दुर्घटनाका मृतक तथा घाइतेका आफन्तले आन्दोलन गरेका छन् । शुक्रबार दैलेख र सुर्खेतको सिमाना रातानाग्ला गाडी दुर्घटनाका मृतक तथा घाइतेका आफन्तले शनिबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आन्दोलन गरेका हुन् रातानाग्लामा दुर्घटना भएको १५ सिटको गाडीमा ३४ जना सवार थिए । आन्दोलनकारीले दैलेखका प्रहरी चेक पोष्टका कर्मचारीहरूलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको उपचार राज्यले गर्नुपर्ने लगायतका माग राखेका छन् ।
यातायातसँग सम्बन्धित ऐन पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी चालक र धनीलाई कारबाही गर्नुपर्ने उनीहरूको अर्को माग छ ।शुक्रबार दैलेखबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ ख ९९८ नम्बरको गाडी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना भएको थियो । उक्त गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका छन् ।