समाचार

चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारको क्रममा निधन

चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारको क्रममा निधन

काठमाडौं,माघ १८ । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा सहभागी भएका चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२:४५ मा निधन भएको जानकारी दिएको हो । अछाममा चुनावी प्रचारका क्रममा बेहोस भइ लडेका थिए । त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।अस्पतालका अनुसार उनलाई सब–अरैक्नोइड हेमरेज भएको थियो ।उपचारमा खटिएका चिकित्सकले जनाएअनुसार सिटौलालाई अस्पताल ल्याउदा उनको चेतनास्तर अत्यन्तै न्यून थियो र अवस्था नाजुक थियो । अझ चिन्ताजनक कुरा के भने, अस्पताल ल्याइनुअघि करिब ४५ मिनेटसम्म मुटुको चाल बन्द भएको थियो ।

अस्पतालबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेन र मस्तिष्कको कार्यक्षमता पुन: प्राप्तिको कुनै संकेत थिएन । बिरामीको परिवारलाई उनको अवस्थाबारे विस्तारमा परामर्थ दिइयो । चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न एप्निया परीक्षण गरियो जुन पोजेटिभ थियो, जसले स्वतस् श्वासप्रश्वास नभएको जनाउँछ । र उहाँको १२:४५ बजे निधन भएको जानकारी गराउँछौं ।’

सब–अरैक्नोइड हेमरेज मस्तिष्कमा हुने रक्तस्रावको अत्यन्तै गम्भीर र ज्यान जोखिममा पार्ने अवस्था मानिन्छ । यो अवस्था तब हुन्छ, जब मस्तिष्कको सतह र त्यसलाई ढाक्ने झिल्ली (अरैक्नोइड मेम्ब्रेन) बीचको स्थानमा अचानक रगत जम्न थाल्छ । चिकित्सकका अनुसार यो ब्रेन हेमरेजको सबैभन्दा खतरनाक प्रकारमध्ये एक हो, जसमा तुरुन्त उपचार नपाए मृत्यु हुन्छ ।

सब–अरैक्नोइड हेमरेजको प्रमुख कारणमध्ये एक हो ।  मस्तिष्कको नसामा भएको एन्युरिज्म फुट्नु । एन्युरिज्म भनेको नसा अस्वाभाविक रूपमा फुल्नु हो । धेरैजसो मानिसमा यस्तो एन्युरिज्म पहिलेदेखि नै हुन सक्छ, तर कुनै लक्षण नदेखिने भएकाले समयमै पत्ता लगाउन कठिन हुन्छ । अचानक रक्तचाप अत्यधिक बढ्नु, अत्यधिक तनाव, धूम्रपान, मदिरा सेवन वा केही अवस्थामा शारीरिक श्रमका कारण पनि एन्युरिज्म फुट्न सक्छ ।

यस रोगका लक्षण प्रायः अचानक र तीव्र रूपमा देखिन्छन् । जसमध्ये अत्यन्तै चर्को टाउको दुखाइ, वाकवाकी वा बान्ता,आँखा झिम्क्याउन गाह्रो हुनु, बेहोस हुनु वा झट्का लाग्नु प्रमुख हुन् । कतिपय अवस्थामा बिरामी एकाएक ढलेर बेहोस समेत हुन सक्छन् ।

 

Related Tag :

Related Post