काठमाडौं,असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकाद्धय एलिना चौहान र समीक्षा अधिकारीको ‘डिजिटल प्रतिरोध’ अभियानमा समर्थन जनाएका छन् । शनिबार बिहान सामाजिक संजालमार्फत प्रधानमन्त्रीले ‘साहसी छोरीहरू’ भन्दै समर्थन जनाएका हुन ।
जस्तो कुराको पनि विरोध गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई जोगाउनुपर्ने बताउँदै प्रधानमन्त्रीले यी दुई गायिकको तरिका सहि लागेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले चौहान र अधिकारीको तरिकामा समर्थन जनाउँदै लेख्छन्, ‘समाजलाई उत्तेजनाले ’गाइड’ गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो ।’
‘समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन’ ओलीले फेसबुकमा लेखेका छन् । पछिल्ला केही दिनयता एलिना र समीक्षाको निजी जीवन र विगतप्रति टिप्पणी गर्दै केही सामाजिक संजाल प्रयोगकर्ताले सामाजिक संजालमा लान्छना लगाइरहेका छन् । यस्तो टिप्पणी गर्नेको आइडी सार्वजनिक गर्दै यी दुई गायिकाले सामाजिक संजालमा प्रतिरोध अभियान चलाइरहेका छन् ।
अभिनेता दीपकराज गिरीले पनि शुक्रबार गायिकाद्धयको यो अभियानमा समर्थन जनाएका थिए ।