समाचार

कोशी ब्यारेजमा पानीको बहाव बढे पछि पैदलयात्रीलाई रोक

कोशी ब्यारेजमा पानीको बहाव बढे पछि  पैदलयात्रीलाई रोक

विराटनगर,असोज १२ ।  कोशी ब्यारेजमा पानीको बहाव बढे पछि  पैदलयात्रीलाई रोक लगाइएको छ । शनिबार साढे १२ बजे ५ लाख ८ हजार क्युसेक बाढी मापन भएपछि सर्वसाधारणलाई हिँड्न रोक लगाइएको  छ । ब्यारेजमा पानीको बहाव बढ्दो छ । उच्च खतराको तह पार गरेका कारण पैदलयात्रीलाई आवतजावतमा रोक लगाए पनि सवारीसाधन आवतजावत भने खुला छ ।

बहाव उच्च भएपछि भारतीय पक्षले ५६ वटै ढोका खोलेको छ । भारतीय पक्षले कोशीमा बाढीको मापन ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने अनुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार बाढीमा दाउरा निकाल्न र माछा मार्न रोक लगाइएको छ । 
कोशीमा बहाव उच्च भएपछि भारतको पटनास्थित जल संशाधन विभागले ब्यारेजमा बाढीको बहाव ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्नसक्ने बताएको थियो । बहाव उच्च हुँदा डुबानको जोखिम हुने भन्दै विभागले कोशी नदीसँग जोडिएका भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लामा सतर्कता अपनाउन भनेको छ ।

 

Related Tag :

Related Post