काठमाडौं,भदौ १८ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरिएको छ । नेपाली कांग्रेसका नेता शंकर भण्डारी र पूर्वप्रहरी संगठन प्रमुख मञ्चका सदस्यहरुले प्रधानमन्त्रीसंग माग गरेका हुन । उनीहरुले छुट्टाट्टै विज्ञप्ति निकालेर मन्त्री गुरुङलाई कारबाहीको माग गरिएको बुझिएको हो ।
मन्त्री गुरुङले गत शनिबार पोखरामा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रहरी महानिरीक्षकको ‘जिभ्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । प्रहरी महानिरीक्षक विरुद्धको अभिव्यक्तिपछि पृथ्वीसुब्बाको पछिल्लो समय आलोचना भइरहेको छ ।पूर्वप्रहरी संगठन प्रमुख मञ्चले पनि आज विज्ञप्ति जारी गर्दै पृथ्वीसुब्बालाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेको छ ।
मञ्चले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारबाही गर्नु हुन पनि अनुरोध गर्दछौं ।’
साथै मन्त्री गुरुङलाई उक्त बचन तत्काल फिर्ता लिई प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न पनि मञ्चले माग गरेको छ ।