काठमाडौं,भदौ ८ । मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी अनियन्त्रित भएर नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । शनिबार साँझ खोटाङबाट भक्तपुर गइरहेको हाइलेक्स सिन्धुलीको गोलन्जोर गाउँपालिका १ कुडुलेमा अनियन्त्रित भएर नदीमा खस्दा गाडी बेपत्ता भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् ।
गाडीमा चार जना सवार थिए । अर्का सोही ठाउँ बस्ने घाइते २७ वर्षीय सुशान्त कक्षपतीको स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । नदीमा खसेर बेपत्ता भएको गाडीसहित सवार यात्रीको खोजी कार्य भइरहेको छ ।
घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेस खुर्कोटबाट सप्रनिको कमाण्डमा गोताखोरसहित १० जनाको टोली खटिएको छ । गोताखोरहरु खोजी कार्यमा परिचालन भएको प्रहरीले जनाएको छ ।