काठमाडौं,असोज २४ । अनावश्यक रुपमा समाजमा वैरभाव र निराशा फैल्याउने प्रवृत्ति बढिरहेको भन्दै सत्तारुढ दल नेकपा एमालेले निष्कर्षसहित त्यसविरुद्ध एकजुट हुन पार्टी पंक्तिलाई आव्हान गरेको छ । आज पार्टी मुख्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले देश बन्छ भन्ने आत्मविश्वासका साथ लोकतन्त्र गणतन्त्र संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन आव्हान गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले भनेका छन् ‘समाजमा निराशा, हतास मनस्थिति, नकारात्मकता, विद्वेष फैलाउने प्रवृत्ति छिटफुट देखापरेका छन् । त्यो गलत छन् । देश बनिरहेको छ भन्ने सकारात्मक सन्देश, देश बन्छ भन्ने आत्मविश्वास साथै लोकतन्त्र गणतन्त्र संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई आव्हान गरेका छौं ।’
यस्तै सचिवालय बैठकले बाढीपहिरोबाट प्रभावितको पुनस्स्थापना, राहत र खोजी बाँकी भएकाले सम्पूर्ण जनसंगठन, कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयंसेवी भूमिकासहित सहयोगमा निरन्तर लागिरहन पनि आव्हान गरेको छ ।