समाचार

१७ महिना मात्रै सरकारको नेतृत्व गरेर त्यसपछि आफै देउवाजीलाई हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

१७ महिना मात्रै सरकारको नेतृत्व गरेर त्यसपछि आफै देउवाजीलाई हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

काठमाडौं,फागुन ५। प्रधानमन्त्री केपी शर्मा ओलीले १७ महिना मात्रै सरकारको नेतृत्व गर्ने र त्यसपछि सहजै रूपमा गठबन्धन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताएका छन् । सरकार ढल्छ भनेर अनावश्यक हल्ला चलाएर अस्थिरतामा मलजल नगर्न आग्रह गरेका छन् ।

उनले भने,‘अब महिना पनि बाँकी छैन, त्यसपछि शेरबहादुरजीलाई दिने हो, कसैले हल्ला गर्नुपर्दैन । म छिटो फलफूल पकाउने औषधि राखेर पकाएजस्तै पकाउनुपर्ने मान्छे होइन, १७ महिना तोप हाने पनि सरकार ढल्दैन, त्यसपछि केही बल गर्न पर्दैन, मैले राजीनामा दिन्छु शेरबहादुरजीलाई हस्तान्तरण गर्छु, कांग्रेस एमालेबीच कुनै आशंका छैन, स्थिरता दिन दुई तिहाइ नजिकको सरकार छ ।’

ओलीले अहिले हल्ला चलाएजस्तै आफू कसैको पाटी फुटाउन र जुटाउन नलागेको बताउँदै भने, ‘कतिपयले हल्ला गरेका पार्टी फुटाउँदै छन् भनेर तर त्यो कल्पना बाहिरको कुरा हो । हामीलाई त्यो फुर्सद छैन हामी पाटी फुटाउने होइन देश बनाउन हिँडेका हौँ, सरकार ढल्छ भनेर हल्ला अनावश्यक गरिएको छ, यो हल्ला चलाएर अस्थिरता बढाउनेको भद्दा मजाक हो । अब युवाहरू यही बसेर देश बनाउनुपर्छ अरूको देश बनाएर केही हुँदैन, आफ्नो देश बनाउने हो, पुर्खाले बनाएको इतिहास नयाँ पिँढीलाई बताऔँ ।’

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली धेरै देश संकटमा परेकाले मुख्य प्रतिस्पर्धी रहेका दुई ठूला मुख्य दल मिलेर सरकार चलाउनुपरेको उनको भनाइ थियो ।

 

Related Tag :

Related Post