काठमाडौं,चैत १८ । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको छ ।यसअघि पटक-पटक बोलाउँदा पनि महासंघ वार्तामा गएको थिएन । तर, आजको छलफलमा सहभागी हुने महासंघले जनाएको छ ।
‘मन्त्रालयले शिक्षा विधेयकमा छलफल गर्न बोलाएको छ । ३ बजेसम्म आन्दोलनकै कार्यक्रम भएकाले त्यसपछि मात्र छलफलमा जाने महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्।
आजको छलफलमा शिक्षक महासंघले आफ्नो कुरा राख्ने बताइएको छ । महासंघले ऐन जारी गर्न तीन वटा विकल्प दिएको छ । संसद्को विशेष अधिवेशन बोलाउने, बर्खे अधिवेशन छिटो बोलाउने वा अध्यादेशबाट ऐन जारी गर्न महासंघले भनेको छ ।
उनीहरूले २० चैतदेखि सुरु भएको आन्दोलनलाई आज पनि जारी राखेका छन् । माइतीघरदेखि बिजुलीबजार पुलसम्मको मुख्य सडक कब्जा गरेर आन्दोलन गर्दै आइरहेको शिक्षकहरूले आजदेखि भने सडक नै कब्जा गरेर आन्दोलन गरिरहेको छ ।