काठमाडौं, साउन १९ । बुढानिलकण्ठमा जनचेतनामुलक पाठ्य सामग्री २०८१ हस्तान्तरण एवं सम्झौता कार्यक्रम सम्पन्न भएको छ । हिजो भएको उक्त कार्यक्रम प्रहरी प्रभाग बुढानिलकण्ठ, सामुदायिक प्रहरी सेवा केन्द्र बुढानीलकण्ठ, बुढानीलकण्ठ नगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाको सहकार्यमा सम्पन्न भएको हो ।
विद्यालय स्तरका बाल बालिकालाई लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालय स्तरमा हुने यौन हिंसा तथा यौन जन्य अपराध, सवारी दुर्घटना, चोरी लगायत बिभिन्न समाजिक विकृति विसंगतिबाट बचाउन एवं विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवं अभिभावकहरुलाई सचेतना अभिवृद्दी गर्ने र अपराध न्यूनिकरण एवं नियन्त्रण गर्ने उदेश्यका साथ उक्त कार्यक्रम गरिएको थियो ।
बुढानिलकण्ठ नगरपालिका भित्रका सम्पूर्ण सार्वजानिक, नीजि तथा संस्थागत विद्यालयहरूमा अनिवार्य पठन पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता कार्यक्रममा ४०० जना उपस्थित भएका थिए । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीज्यूको अध्यक्षतामा भएको कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्मा पोखरेल प्रमुख आतिथी रहेका थिए । यस्तै बूढानिलकण्ठ नगरपालिका उपप्रमुख अनिता लामा, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरे, प्रहरी बृत्त महाराजगंजका कार्यालय प्रमुख रबिन्द्रनाथ पौडेल, प्रहरी प्रभाग बुढानिलकण्ठका कार्यालय प्रमुख योगराज खतिवडा, विद्यालयका प्रधानाध्यापकहरु, स्थानीय र जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।