काठमाडौं,माघ २७ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागीबाट कार्यकक्ष जलेपछि खानेपानीमन्त्री प्रदीप कुमार यादवले अस्थायी कार्यकक्ष बनाएर काम सुरू गरेका छन्। मन्त्रालयको तेस्रो तलाको कोठा नं ४०७ बाट नयाँ कार्यकक्ष अस्थायी रूपमा स्थापना गरी काम सुरू गरेको यादवले सामाजिक सञ्जालमार्फत बताएका हुन।
उनले फेसबुकमा लेखेका छन्, ‘ मिति २०८१ माघ २६ गते शनिबार का दिन खानेपानी मन्त्रालयको चौथो तलामा रहेको मेरो कार्यकक्षमा विद्युत् सर्ट भई आगलागी हुँदा कार्यकक्ष पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । दुस्खदायी घटनापछि देश र जनतालाई दैनिक सेवा प्रवाह गर्नका लागि आज बाट मैले मन्त्रालयको तेस्रो तलाको कोठा नं ४०७ बाट नयाँ कार्यकक्ष अ(स्थायी रूपमा स्थापना गरी नियमित सेवा कार्य प्रारम्भ गरेको छु।’
शनिबार बिहान खानेपानी मन्त्रालयमा आगलागी भएको थियो, जसमा मन्त्रीको कार्यकक्ष, सचिवालयसहित ३ कोठा र त्यहाँ रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएको थियो ।